डोटी,,,,गणेश भण्डारी

एउटा गाउँको मौनता
धारिलो बतास, कराउँदा खोल्सा, हरिया डाँडा पाखा र मानवीय मूल्य सहितको जनजीवन साक्षी रहेको एउटा गाउँ थियो — डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.६मा अवस्थित बस्ती दानकोट । बिहानै महिला दिदीबहिनी आमाहरूले परम्परागत जाँतोमा (जितारो) कोदो, गहुँ र अन्य दलहन पिसेको अनि ओखलमा (धान कुट्ने परम्परागत प्रविधि)को ’छ्यौ–छ्यौ’ गर्दै धानलाई चामल पारेको देखिन्थ्यो। दिनभरिको लेक बेसी गर्दैको मिलेको समाज देखिन्थ्यो साँझ जाँदा गोठबाट फर्केका गाई गोरूको घण्टीले गाउँ गुञ्जायमान हुन्थ्यो। आज त्यो गाउँ छ, तर त्यही जीवन छैन । घर छन्, मानिस छैनन्। बारी छन्, जोत्ने कोही छैन। विद्यालय छन्, विद्यार्थी छैनन्। गाउँ छ समाज छैन । केवल वृद्ध आमाबाबु, केही बालबालिका र मौनतामा डुबेका घरहरू छन्। युवा जनशक्ति र विद्यार्थीहरू सबै सहर बजारमा, तराई वा भारत, कतार र मलेसिया अथवा तेस्रो मुलुक पुगेका छन्। यो कथा एउटा गाउँको मात्र होइन, सिङ्गो सुदूरपश्चिम र देशका पहाडी भेगको कथा हो, जसले आज आफ्ना छोराछोरी, आमाबुबा, परिवार र जनजीवनलाई मात्र होइन सिङ्गो भविष्यलाई पनि गुमाइरहेको छ।
पलायनको लहर ः किन बढ्दै छ गाउँ छाड्ने प्रवृत्ति?

जीविकोपार्जनको चुनौती ः सुदूरपश्चिमको पहाडमा जीवन र प्रकृतिको सम्बन्ध पुरातन छ। खेतमा पसिना बगाएर पेट पाल्ने संस्कार अझै जीवित छ। तर यो परम्परा अब युवा पुस्तालाई मन पर्दैन। बर्सेनि वर्षाले भत्काउने बाटो, बाढीले बगाउने बाली, रोगले सताउने पशु। यस्तो कठिन जीवनशैलीले थकित भएका युवाहरूलाई गाउँ बस्न बाध्य तुल्याउन सक्दैन।
विकासको सीमित पहुँच ः शिक्षा स्वास्थ्य जस्ता प्रमुख कुरामा कतिपय ठाउँमा स्वास्थ्य चौकी नाम मात्रको छ — स्वास्थ्यकर्मी छैनन्, समयमा औषधोपचार छैन। विद्यालय छन्, तर गुणस्तरीय शिक्षाको अभाव छ। यसले शिक्षा र स्वास्थ्यको खोजीमा मानिसलाई पलायन गराइरहेको छ।
आधुनिकताले उब्जाएको रहर ः आजको पुस्ता ’फेसबुक’, ’टिकटक’ र युट्युबको संसारमा रमाइरहेको छ। उनीहरू ’सहरको जीवन’ र ’विदेशको सपना’सँग मोहित छन्। गाउँको लयबद्ध जीवन अब उनीहरूलाई बासी लाग्न थालेको छ।

सरकारी नीति र कार्यान्वयनको कमजोरी ः स्थानीय तहले योजना बनाउँछन्, तर कार्यान्वयन र अनुगमनमा कमजोरी छ। युवालाई गाउँमै काम दिन सक्ने दीर्घकालीन योजनाको अभावले पनि पलायनलाई बढवा दिइरहेको छ।
पलायनका दीर्घकालीन प्रभावहरू

सामाजिक संरचनाको विघटन ः गाउँमा आज हरेक घरमा छुट्टिएका परिवार छन्। श्रीमान् विदेशमा, श्रीमती तराईमा, बच्चाहरू बोर्डिङ स्कुलमा। यस्तो टुक्रा टुक्रा परिवारले सामाजिक सम्बन्धको मिठास हराउँदै गएको छ।
सांस्कृतिक सम्पदामा सङ्कट ः पहाडको लोक संगीत, नृत्य, परम्परागत पूजाआजा, जात्रा र मौलिक भेष भूषा अब लोपोन्मुख छन्। नयाँ पुस्ताले ती परम्परालाई आत्मसात् गर्ने वातावरण नै छैन।
कृषिमा गिरावट ः पलायनका कारण बारी बाँझा छन्। उब्जनी घटेको छ। मानिसको जीवनशैली आयातमा निर्भर हुँदै गएको छ। विदेशबाट आउने रेमिट्यान्सले खाद्यान्न किन्ने तर बाली फलाउने परम्परा हराउँदै छ।
मानसिक स्वास्थ्यमा असर ः विदेश पलायनले आर्थिक सुधार ल्याउन सक्छ, तर पारिवारिक दूरी, सामाजिक एक्लोपन र मानसिक तनाव पनि थपेको छ। आत्महत्याका घटनाहरू, सम्बन्ध विच्छेद र बालबालिकाको आचरणमा देखिएको असन्तुलन यहीका उपज हुन्।
समाधानका बहुपक्षीय उपायहरू
ग्रामिण उद्यम र सीप विकास ः स्थानीय स्रोतको उपयोग गरेर जस्तै जडीबुटी उत्पादन, अङ्गीकृत कृषि, पशुपालन, साना उद्योग स्थापना गरिनुपर्छ। युवाहरूलाई गाउँमै सीपमूलक तालिम दिइनु आवश्यक छ।
प्रविधिमा पहुँच ः डिजिटल नेपालको नाराले गाउँमा पनि इन्टरनेट, मोबाइल बैङ्किङ, अनलाइन शिक्षा र व्यापारको पहुँच पु¥याउनुपर्छ। ग्रामीण ई–कमर्सलाई प्रोत्साहन गर्न सकिन्छ।
पर्यटनको सम्भाव्यता उपयोग ः सुदूरपश्चिमका पहाडहरू धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिले अतुलनीय छन्। यस्ता ठाउँमा होमस्टे, पदमार्ग, जैविक खेतीको माध्यमबाट ग्रामीण पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ।
युवा लक्षित कार्यक्रम र प्रोत्साहन ः युवाहरूलाई गाउँमै उद्यम गर्न प्रेरित गर्न अनुदान, सहुलियत ऋण, बिमा, बजारको सुनिश्चितता जस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ।
स्थानीय सरकारको सक्रियता ः स्थानीय सरकार र समुदाय बिच समन्वय र सहभागितामा आधारित योजना निर्माण तथा कार्यान्वयन हुनुपर्छ। बजेट, नीति र योजना समुदायको आवश्यकताको आधारमा बनाइनु जरुरी छ।
निष्कर्ष ः ‘गाउँ फर्कौँ’ अभियानको आवश्यकता
आज सुदूरपश्चिमका पहाडी गाउँहरू आफ्ना बासिन्दालाई बोलाइरहेका छन् — “फर्क न, मेरो काखमा!”
गाउँको मातृभूमिले आशा गरेको छ कि एक दिन ती छोराछोरी फर्केर आफ्ना बारी जोत्न चाहन्छन्, घरमा आमा–बाबुसँग बाँकी जीवन बिताउन चाहन्छन्।
पलायनलाई रोक्ने उपाय केवल नीतिगत मात्र होइन, भावनात्मक पुनर्संरचना पनि हो। युवाहरूमा गाउँप्रतिको आत्मीयता जागृत गर्नु जरुरी छ।











