२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं.७ का २ वटा समुहका ३९ जना कृषकहरुलाई एक कार्यक्रमका बिच कृषि सामाग्री सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुदायिक बिकास मन्च नेपाल को साझेदारी मा संचालित एकिकृत सामुदायिक बिकास परियोजना ले कृषि उत्पादन तथा उत्पादकत्व बढाउने उद्धेश्यका साथ कृषि सामाग्रीहरु र बिउ बिजन बितरण गरेको हो । प्लास्टिक टनेल,हजारी, प्लास्टिक पाइप लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको परियोजना मा कार्यरत निरज बोगटी ले बताउनु भयो ।

उक्त कृषि सामाग्री हस्तान्तरण कार्यक्रमा दिपायल सिलगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कर्ण विष्टले कृषि क्षेत्रमा ब्याबसायिकरण गर्न चाहाने लाइ यो ठुलो सहयोग भएको बताउदै कृषिमा गर्न चाहाने किसानका लागि आगामि बजेटमा प्राथमिकता दिएका काम गर्ने बताउनु भयो ।

उक्त कार्यक्रम मा गुड नेवर्श इन्टरनेशनल नेपाल का डोटी जिल्ला कार्यक्रम संयोजक गिता चौधरी ले संस्थाले गरेको सहयोग छेणिक भएकाले आत्मनिर्भर भएर आफै ब्याबसायिक बन्नका लागि सहयोग गरेको बताउनु भयो ।
त्यसतै सामुदायिक बिकास मन्च नेपाल का अध्यक्ष खडक राज शर्मा ले बिभिन्न संघ संस्थाहरु संगको सहकार्यमा लामो समयदेखि काम गर्दै आएकाले अझै पनि आयआर्जन क्षेत्रमा राम्रो काम गर्नेलाइ थप सहयोगका लागि निरन्तर सहयोग गर्ने बताउनु भयो ।

सामुदायिक बिकास मन्च नेपाल का अध्यक्ष को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका वडा नं ७ का अध्यक्ष कर्ण बिष्ट को प्रमुख आतिथ्यमा र गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गिता चौधरी, कृषि प्राबिधिक, किसानहरु लगाएतको उपस्थितीमा उक्त कृषि सामाग्री हस्तान्तरण सम्पन्न भएको छ ।

डोटीः डोटीको सेती नदीमा एक बालक बेपत्ता भएका छन।

जिल्लाको दीपायल–सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा १० वर्षीय बालक बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीले रमेश विकका छोरा अमित मङ्गलवार दिउँसो झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका बताएको छ। प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको नेतृत्वमा सात जनाको प्रहरी टोली घटना स्थलमा खटिएको छ। प्रहरीले बालकको खोजी कार्य जारी रहेको बताएको छ।

रमेश बोहरा,,,डोटी,,,
नेपालको ग्रामीण क्षेत्रमा पछिल्लो समय एउटा नयाँ प्रवृत्ति देखिएको छ—गाउँका महिलाहरू आफ्ना छोराछोरीलाई प्राइभेट बोर्डिङ स्कुलमा पढाउन सहरतिर बसाइँ सर्दै छन्।

यो प्रवृत्ति एकातिर आधुनिक शिक्षाप्रतिको आकर्षण र अर्कोतिर सामाजिक दबाबको परिणाम हो । तर, यो प्रवृत्तिले केही गम्भीर सामाजिक र शैक्षिक समस्याहरूलाई पनि सतहमा ल्याएको छ। प्राइभेट बोर्डिङ स्कुलमा छोराछोरी पढाउनु एक प्रकारको ‘फेसन’ बन्दै गएको छ,।

तर अभिभावकहरू विशेष गरी महिलाहरूमा पर्याप्त शैक्षिक चेतना र जिम्मेवारीको अभावले यो प्रवृत्ति सामाजिक विसङ्गतिको रूपमा देखा परेको छ। यो लेखमा मैले यो विषयको गहिराइमा जाँदै यसले समाज, परिवार, र बालबालिकाको भविष्यमा पार्ने प्रभावको विश्लेषण गर्नेछु

प्राइभेट बोर्डिङ स्कुलको आकर्षण

नेपालको ग्रामीण क्षेत्रमा प्राइभेट बोर्डिङ स्कुलप्रतिको आकर्षण बढ्नुमा विभिन्न कारणहरू छन्।

पहिलो— सरकारी स्कुलहरूको गुणस्तरमा कमी र प्राइभेट स्कुलहरूले देखाउने बाहिरी चमकले अभिभावकहरूलाई लोभ्याएको छ।

दोस्रो,ः— गाउँमा सामाजिक प्रतिस्पर्धा र ‘अरूको लहलहैमा लाग्ने’ प्रवृत्तिले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्न प्रेरित गरेको छ।

तेस्रो, ः— वैदेशिक रोजगारीमा गएका पुरुषहरूले पठाएको रेमिट्यान्सले गाउँका परिवारहरूलाई आर्थिक रूपमा सक्षम बनाएको छ, जसले उनीहरूलाई सहरमा कोठा भाडामा लिएर बस्ने र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने अवसर प्रदान गरेको छ।

तर, यो आकर्षणको पछाडि एउटा कटु सत्य लुकेको छ—धेरैजसो अभिभावकहरू, विशेष गरी महिलाहरू, आफैँ पर्याप्त शिक्षित छैनन्। उनीहरूलाई आफ्ना छोराछोरीले स्कुलमा के पढ्छन्, के सिक्छन् भन्ने कुराको जानकारी हुँदैन। बोर्डिङ स्कुलमा भर्ना गर्नु उनीहरूका लागि सामाजिक प्रतिष्ठाको विषय बनेको छ, तर यो प्रतिष्ठाले छोराछोरीको शैक्षिक प्रगति र भविष्यमा खासै योगदान दिएको देखिँदैन।

अभिभावकको भूमिका र चुनौतीहरू

अभिभावकको भूमिका बालबालिकाको शैक्षिक विकासमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर, नेपालको ग्रामीण क्षेत्रका धेरै महिलाहरूले यो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सकिरहेका छैनन्। यसका पछाडि निम्न कारणहरू छन्ः

शैक्षिक स्तरको कमीः ग्रामीण क्षेत्रका धेरै महिलाहरूले आधारभूत शिक्षा पनि प्राप्त गरेका हुँदैनन्। उनीहरूलाई आफ्ना छोराछोरीको पाठ्यपुस्तक बुझ्न वा गृहकार्यमा सहयोग गर्न गाह्रो हुन्छ। बोर्डिङ स्कुलहरूले अङ्ग्रेजी माध्यममा पढाउने भएकाले यो चुनौती झन् जटिल बनेको छ।

सामाजिक दबाब र लहलहै ः गाउँमा बोर्डिङ स्कुलमा छोराछोरी पढाउनु ‘आधुनिक’ र ‘प्रतिष्ठित’ मानिन्छ। यो सामाजिक दबाबका कारण धेरै महिलाहरूले आफ्नो आर्थिक र शैक्षिक क्षमताको मूल्याङ्कन नगरी छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्छन्।

समय व्यवस्थापनको अभावः सहरमा कोठा भाडामा लिएर बस्ने महिलाहरूको दैनिकी प्रायः घरायसी काम, सामाजिक भेटघाट, र सामाजिक सञ्जाल (जस्तै टिकटक) मा समय बिताउनमै व्यतीत हुन्छ। छोराछोरीको पढाइमा ध्यान दिने समय र रुचि उनीहरूमा कम देखिन्छ।

पारिवारिक संरचनाको प्रभावः धेरैजसो परिवारमा पुरुषहरू वैदेशिक रोजगारीमा हुन्छन्, जसले गर्दा महिलाहरूले एक्लै परिवारको जिम्मेवारी वहन गर्नुपर्छ। यो जिम्मेवारीले उनीहरूलाई छोराछोरीको शैक्षिक प्रगतिमा ध्यान दिनबाट वञ्चित गराउँछ।

सामाजिक र आर्थिक प्रभावः यो प्रवृत्तिको सामाजिक र आर्थिक प्रभावहरू गम्भीर छन्। पहिलो, गाउँमा खेतबारी र जमिन बाँझो रहनुले कृषि उत्पादनमा कमी आएको छ।

ग्रामीण अर्थतन्त्रमा रेमिट्यान्सको योगदान बढे पनि यो दीर्घकालीन समाधान होइन। दोस्रो, सहरमा कोठा भाडामा लिएर बस्ने र बोर्डिङ स्कुलको महँगो शुल्क तिर्ने प्रवृत्तिले परिवारको आर्थिक बोझ बढाएको छ।

धेरैजसो परिवारहरूले वैदेशिक रोजगारीबाट आएको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुको सट्टा बोर्डिङ स्कुलको शुल्क र सहरको जीवनशैलीमा खर्च गरिरहेका छन्।
सामाजिक रूपमा, यो प्रवृत्तिले गाउँ र सहर बिचको खाडललाई झन् गहिरो बनाएको छ।

गाउँ छोडेर सहरमा बस्ने महिलाहरू न त गाउँको सामाजिक संरचनामा पूर्ण रूपमा संलग्न हुन सकिरहेका छन्, न त सहरको जीवनशैलीमा आफूलाई पूर्ण रूपमा समायोजन गर्न सकिरहेका छन्। यो अवस्थाले उनीहरूमा सामाजिक अ लगाव र मानसिक तनावको जोखिम पनि बढाएको छ।

 

शैक्षिक गुणस्तर र बालबालिकाको भविष्य

प्राइभेट बोर्डिङ स्कुलहरूले बाहिरी रूपमा राम्रो देखिए पनि तिनको शैक्षिक गुणस्तरमा प्रश्न उठ्ने गरेको छ। धेरै बोर्डिङ स्कुलहरू नाफामुखी छन् र तिनले गुणस्तरीय शिक्षाभन्दा पनि विद्यार्थीको सङ्ख्यामा जोड दिन्छन्। यस्तो अवस्थामा, अभिभावकहरूले ठुलो रकम खर्च गरेर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाए पनि अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिरहेका छैनन्।

अभिभावकहरूले घरमा छोराछोरीको पढाइमा सहयोग गर्न नसक्दा र स्कुलले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा बालबालिकाको शैक्षिक प्रगति प्रभावित भएको छ। यो अवस्थाले दीर्घकालमा बालबालिकाको आत्मविश्वास, करियर, र समग्र भविष्यमा नकारात्मक प्रभाव पार्न सक्छ।

समाधानका उपायहरू

यो सामाजिक विसङ्गतिलाई सम्बोधन गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छः

निष्कर्ष
नेपालको ग्रामीण क्षेत्रमा प्राइभेट बोर्डिङ स्कुलप्रतिको आकर्षण र त्यसले निम्त्याएको सामाजिक विसङ्गति एउटा जटिल समस्या हो। यो प्रवृत्तिले एकातिर अभिभावकहरूलाई आर्थिक र सामाजिक दबाबमा पारेको छ भने अर्कोतिर बालबालिकाको शैक्षिक भविष्यलाई जोखिममा राखेको छ।

                                             यो समस्याको समाधानका लागि सरकार, समुदाय, र नागरिक समाजको संयुक्त प्रयास आवश्यक छ।

 

अभिभावकहरूमा शैक्षिक चेतना बढाउने, सरकारी स्कुलको गुणस्तर सुधार गर्ने, र प्राइभेट स्कुलहरूलाई नियमन गर्ने कदमहरूले यो विसङ्गतिलाई कम गर्न मद्दत गर्नेछ।
अन्ततः, हाम्रो समाजले शिक्षा केवल ‘फेसन’ होइन, बालबालिकाको भविष्य निर्माणको आधार हो भन्ने कुरालाई आत्मसात् गर्नुपर्ने छ ।

डडेल्धुरा ,२७ बैशाख । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रि हिरा सिह सार्कीले सुदूरपश्चिमको सञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास गर्ने तयारी भईरहेको बताएका छन । डडेल्धुरामा शनिवारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी आयोजना गरिएको २ दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सार्कीले यस्तो बताएका हुन ।

सञ्चार विधेयक पास गर्नका लागि पत्रकारहरू सँग छलफल गरिरहेका छौं, अझ महासंघले यसमा छलफल गरि सुझाव दिन आग्रह गर्दछु’ मन्त्री सार्कीले भने । उनले मन्त्री भएदेखि नै सञ्चार विधेयक बनाउन लागि परेको बताए । ‘प्रदेश सरकार गठनको पनि ८ वर्ष भएछ, म पनि आठौं मन्त्री भएको रहेछु तर अहिलेसम्म आम सञ्चार विधेयक नबन्नु दुखद हो । पत्रकारहरुको ब्यवस्थापनका लागि यो ऐन आवश्यक छ’ मन्त्री सार्कीले भने ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.तारा प्रसाद जोशीले रेडियो एफएमहरु संकटमा परिरहेकाले नयाँ प्रविधि सँगै अघि बढ्नुपर्ने बताए । ‘अहिले एफएम रेडियो मात्रै होईन, प्रिन्ट मिडिया पनि संकटमा छन । मिडिया भनेको जनताको आवाज हो । यो जोगाउने जिम्मा सरकारको हो, सरकारले यसमा ध्यान दिनुपर्छ’ प्रदेश सभा सांसद जोशीले भने ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रशिक्षणमा ९ वटै जिल्लाका रेडियोका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

आर्थिक अवस्था कमजोेर भएर संकटमा रहेका रेडियोहरूलाई कसरी जोगाउने भन्ने बारेमा डाक्टर रघु मैनालीले सहजिकरण गरिरहेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत बहादुर सिहले स्वागत गरेका थिए भने नेपाल प्रेस युनीयनका केन्द्रिय सदस्य शैलेन्द्र रोकाया, युनीयन डडेल्धुराका उपाध्यक्ष राम खत्री, प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मी ऐर, प्रेस संगठनका जिल्ला अध्यक्ष भीम दाहाल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष टीकाराम साउद सहितका पत्रकारहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मानबहादुर साउदे धन्यवादज्ञापन गरेका थिए ।

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २० गते जारी गरेको प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका अप्राविधिक÷प्राविधक पदहरुको ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाको विज्ञापन परिपूर्तिका लागि तय गरेको परीक्षा सर्वोच्चको आदेशपछि स्थगित गरेको हो ।

प्रदेश लोक सेवा आयोगले २० फागुनमा खोलेको विज्ञापनमा अप्राविधिक तर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जना तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जनालाई बढुवा गर्ने सूचना जारी गरेको थियो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकका विभिन्न ३० पदमा ३५ जना र कार्य क्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ४९ पदमा ५० जनाको विज्ञापन खुल्ला गरेको थियो ।

ती मध्ये समूह भित्रै आन्तरिक प्रतियोगिताको परीक्षा दिन नपाइएको भन्दै वन सेवा र कृषि समूहले सर्वोच्च अदालतमा रिट दाय गरेका थिए । रिट दिएको भोलीपल्टै अदालतले आयोगलाई तत्काल परीक्षा रोक्न भनेपछि आयोगले अहिले परीक्षा रोकिएको जानकारी गराएको हो ।

आयोगका शाखा अधिकृत मिना जोशीद्धारा जारी एक सूचनामा भनिएको छ ‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाई यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गर्ने भनी आयोगले २०८२ वैशाख २४ मा निर्णय भएकोले सोही ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

डोटीको पुर्वीचौकी गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि सामुदायिक विकास केन्द्र(सी.डी.सी) डोटीले अभियानको आयोजना गरी भर्ना अभिनय थालेको छ ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिक सत्र–२०८२ कालागि विद्यार्थी भर्ना अभियान थालिएको हो ।

वल्र्ड भिजन इन्टरनेस्नल नेपालको सहयोग ,सामुदायिक विकास केन्द्र डोटीको आयोजना र पुर्वीचौकी गाउपालिका वाड नं.१ मा रहेको भगवती आधारभूत विद्यालय र खापार आधारभूत विद्यालयको सहकार्यमा सोमबार देखी टोलटोलमा विद्यार्थी भर्ना अभियान थालेको सी.डी.सी. डोटीका फिल्ड अधिकृत जित बहादुर वि.क.ले बताए ।

गत चैत्र २० गते देखी वैशाख १७ गते सम्म भएको शिक्षकहरूको काठमाडौँ केन्द्रीत आन्दोलनले प्रभावित बनेको भर्ना अभियान सुरु भए सँगै विद्यालयमा पढाइ समेत हुन थालेको खापर आ.वि.का प्रधानाध्यापक देवराज पन्तले बताए ।

समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत विद्यालय र विद्यार्थीको सुदृढीकरणका लागी सिडी सी डोटीको पुर्वीचौकीका विभिन्न विद्यालयमा क्रियाकलापहरू विभिन्न समयमा गर्दै आइरहेको छ ।

वैशाख २० गते डोटी : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ डोटी शाखाले स्वास्थ्य परीक्षण, आँखा जाँच र रक्तदान कार्यक्रम गरेको छ ।

‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ
शनिवार विश्व प्रेस स्वतन्त्रता दिवसमा जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परीक्षण, आँखा जाँच जिल्ला अस्पतालमा सिलगढीमा गरीएको हो ।

स्वास्थ्य परीक्षमा उक्त रक्त चाप , मधुमेह, मृगौला , पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतको परीक्षण गरीएको जिल्ला अस्पताल डोटीका मेसु सुजित मण्डलले वताए ।

त्यस्तै स्वास्थ्य परिक्षण संगै पत्रकारहरुको आँखा जाच पनि गरीएको छ । नियमित रूपमा आँखाको जाँच गराउँदा आँखाको अवस्थाका साथसाथै अन्य कुरामा फाइदा पुग्ने नेपाल नेत्र ज्योती संघ आखा उपचार केन्द्र शिखर उप शाखा प्रमुख सुजल चौधरी वताईन् ।

जिल्लामा रगत अभाव भईरहेको वेला पत्रकार महासंघ डोटीले गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहयोग पुग्ने नेपाल रेडक्रस सोसाइृटी रक्त सञ्चार सेवाका ईन्र्चाज हरीष खड्काले वताए ।

दिवसरका अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले विश्व प्रेस स्वतन्त्रता दिवसरमा सम्पुर्ण पत्रकार,सञ्चारकर्मि लगायत पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा शुभकामना व्यक्त गरे ।

प्रेस तथा अभिव्यक्तिका लागि विभिन्न समयमा भएका सङ्घर्षमा योगदान गर्नुहुने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट उनले गरे ।
राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्न अध्यक्ष बमले विश्वास व्यक्त गरे
अहिले पनि दण्डहिनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की व्यहोर्नुका साथै विस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग अध्यक्ष बमले माग गरे ।

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेका भएपनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण, यातना र झमेला खेप्नु परिरहेको घटना दिन प्रतिदिन वढी रहेको कुरा प्रति उनले चिन्ता व्यक्त गरे ।
महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सफल वनाउन सहयोग गर्ने सम्पुर्ण धन्यवाद व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा तथा स्वास्थ्य कार्यालय ,जिल्ला अस्पताल, नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा डोटीको सहकार्यमा स्वास्थ्य परीक्षण, आँखा जाँच र रक्तदान कार्यक्रमको गरीएको हो ।

वैशाख १७ गते,डोटी : डोटीमा एक जना महिलाले २३ वर्ष पछि अपंगता परिचयपत्र पाएकी छन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका -५ धिर्कामाण्डाै घर भएकी इसरा बोहराले अपंगता भएको २३ वर्ष पछि परिचयपत्र पाएकी हुन् ।

बुधवार गाउँपालिका उपाध्यक्ष विस्ना देउवा बमको नेतृत्वमा गएको टोलीले बोहराको घरमा गएर ‘क’वर्गको अपंगता परिचय पत्र वितरण गरेको हो ।

स्थानीय सरकारले पालिका भित्र रहेका अशक्त,असहाय तथा सेवाबाट वन्चितरहेकाहरुको खोज तलास गरेर अपाङ्गता परिचय वितरण लगायतका सेवा दिने गरेको उपाध्यक्ष बमले बताइन् ।

अपाङ्ग भएका व्यक्तिले आफ्नो हक अधिकार सुनिश्चित गर्न परिचय पत्र वितरण गरेको उनले बताइन् ।

घरमा आएर छोरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी र अपंगता परिचयपत्र पाउँदा निक्कै खुसी लागेको उनका बुवा वीर बहादुर बोहरा बताए ।

लामो समय देखि अशक्त छोरीको परिचय पत्र बनाएर सहयोग गरेकोमा उनले स्थानीय सरकार लगायतलाई धन्यवाद दिए ।

परिचय पत्र वितरण कार्यक्रममा उपाध्यक्ष बम, वडा नम्बर -५का वडा अध्यक्ष राम बोहरा, शिक्षा शाखा प्रमुख चेतराज बिनाडी, कम्प्युटर अपरेटर उत्तम साउँद , चवरा चौतारा स्वास्थ्य चौकीमा कार्यरत डाक्टर सन्जित यादव,प्रहरी लगायत उपस्थिति रहेको थियो ।

डोटी- डोटीमा इभी माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्लाको जोरायल  गाउँपालिका वडा नम्बर २ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ईभी माइक्रो दुर्घटना भएको हो ।

सु .प. प्र ०२००१ ज.०५६७ नम्बरको इभी हाइस गए राति साढे ११ बजेको समयमा आफै अनियन्त्रित भई सडक बाट ५०-६० मिटर तल खस्दा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घाइते हुनेमा जिल्ला बैतडी डिलासैनी गाउँपालिका- ४ का ४५ वर्षीय हर्क नेगी सोही ठाउँका २७ वर्षीय धीरेन्द्र नेगि ,४४ वर्षका जगदीश जोशी , ५३ वर्षका राम बहादुर नेगी, ६५ वर्षीय धना  नेगि, २८ वर्षीय वीर बहादुर नेगी, र चालक २४ वर्षीय अशोक बम घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते मध्ये ६५ वर्षीय धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको र थप अनुसन्धान भइरहेको छ।।

अछाम : अछामका एक जनाले आफ्नै घाँटी काटेका छन्। जिल्लाको बान्निगढी–जयगढ गाउँपालिका–३ जाल्तोलाका ४० वर्षीय गणेश लुहारले आफ्नै घाँटी हँसियाले काटेका हुन।

जिल्ला प्रहरी कार्यालय, अछामले मङ्गलवार दिउँसो आफ्नै घरको आँगनमा हँसियाले आफ्नै घाँटी रेटेका गणेशको मृत्यु भएको बताएको छ। प्रहरीले उनलाई घरबाट घाइते अवस्थामा अस्पताल लगेको थियो। प्रहरीले उनलाई न्याय हेल्थ अस्पताल, बयलपाटामा उपचारका लागि लगेको होे। बयलपाटामा उपचार सम्भव नभएपछि गणेशलाई धनगढी ल्याइएको थियो। धनगढी आउने क्रममा डोटीको गैरा क्षेत्रमा उनको मृत्यु भएको अछाम प्रहरीले बताएको छ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।