डोटीको दिपायल सिलगढी नगर पालिकामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजनाको सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार एकता नेपालको आयोजना, सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत टेवाको साझेदारी तथा दिपायल सिलगढी नगरपालिका समन्वयमा सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
दिपायल सिलगढी नगर पालिकाको सेती सभा हलमा कार्यक्रम भएको थियो ।

सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजनाको विस्तृत जानकारी एकता नेपालका कार्यकारी निर्देशक राजु चौधरिले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दिपायल सिलगढी नगर पालिका उपप्रमुख लावती महर साउद ,दिपायल सिलगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल ब महरा, वडा नं. ६ का दलित महिला वडा सदस्य चन्द्रा नेपाली, महिला वडा सदस्य दिपा श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सानुमाया लिम्बू सेफ हाउस डोटीका वन्दना बम,एक द्वार सङ्कट व्यवस्थापन केन्द्र डोटीका तारा कुमारी बोहरा , सामुदायिक सुरक्षा जालो, महिला कृषक समूह, युवा सञ्जाल, किशोरी सञ्जाल, बाल क्लब तथा विभिन्न सङ्घसंस्थाका गरी ५३ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उठेका सवालमा बोल्दै नगर उप प्रमुख साउदले महिला सशक्तीकरण तथा महिलाको आर्थिक स्थिति मजबुत बनाउन नगर कार्य पालिकाले सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा लक्षित वर्गका लागि बजेट विनियोजन हुँदै आएको भए पनि आगामी आर्थिक वर्षमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, किशोरी तथा महिलाहरूलाई उद्यमशीलता र रोजगारीमा जोड्न विशेष बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजना दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा विगत एक वर्ष देखि सञ्चालन हुँदै आएको छ ।
कार्यक्रमले स्थानीय स्तरमा महिला सशक्तीकरण, समावेशी विकास र सामुदायिक सुरक्षा जालो सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।















