श्रम विभेद अन्त्य र सेवा सुविधाको माग गर्दै जिल्ला अस्पताल डोटीका कर्मचारी आन्दोलनमा रहेका छन ।
जिल्ला अस्पताल डोटीमा कार्यरत कार्यक्रम करारका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले श्रम विभेदको अन्त्य र सेवा सुविधाको माग गर्दै शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने घोषणा गरेका छन्।

अस्पतालमा कार्यरत दरबन्दी करारका कर्मचारी र कार्यक्रम करारका कर्मचारीहरूले समान प्रकृतिको काम र जिम्मेवारी निर्वाह गर्दै आए पनि सेवा सुविधामा विभेद गरिएको उनीहरूको गुनासो छ।
स्थायी तथा दरबन्दी करारका कर्मचारीले सरकारले वृद्धि गरेको तलब, महँगी भत्ता, दसैँ पेस्की तथा पोसाक भत्तालगायतका सेवा सुविधा पाउँदै आए पनि कार्यक्रम करारका कर्मचारीहरू भने ती सुविधाबाट पूर्ण रूपमा वञ्चित भएको उनीहरूले बताएका छन्।

यस विषयमा लामो समयदेखि प्रदेश सरकार तथा सम्बन्धित निकायको पटक–पटक मौखिक र लिखित रूपमा ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
उनीहरूले आफ्ना न्यायोचित माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले आज मिति २०८३ साल कात्तिक १३ गतेदेखि हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम तय गरेका छन्।

यद्यपि विरोधका कार्यक्रम सञ्चालन गर्दा अस्पतालको नियमित स्वास्थ्य सेवा तथा बिरामीहरूलाई कुनै असर नपर्ने गरी आन्दोलन गर्ने कर्मचारीहरूले जनाएका छन्।
कर्मचारीहरूले श्रम विभेदको अन्त्य, समान कामको समान सुविधा तथा न्यायोचित सेवा सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।















