डाेटीकाे सुजङ्ग बोर्डिङ्ग स्कुल, राजपुरले रसुवा सहित विभिन्न क्षेत्रमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकको लागि आर्थिक सहयाेग गरेकाे छ ।
विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीको सहयाेगमा २ लाख २२ हजार २२२ रुपैयाँ संकलन गरि डाेटीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रकम हस्तान्तरण गरिएकाे विद्यालयका निर्देशक नरेश बलायरफे जानकारी दिए ।
विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीले आफ्नो एक महिनाको तलबबाट तीन दिन बराबरको ८९ हजार ९ सय ६९ रुपैयाँ, विद्यार्थीहरूले खाजाबाट बचत गरेको ३९ हजार ५० रुपैयाँ, विद्यालयमा गठित जुनियर रेडक्रस कोषबाट १८ हजार २ सय ३ रुपैयाँ र विद्यालयको तर्फबाट ७५ हजार रुपैयाँ गरि कुल २ लाख २२ हजार २ सय २२ रुपैयाँ पिडितका लागि सहयाेग गरिएकाे हाे ।
रकम हस्तान्तरणका क्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विपद्को कठिन घडीमा सुजुङ बोर्डिङ स्कुल परिवारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको मानवीय भावना तथा सामाजिक उत्तरदायित्वको प्रशंसा गरे ।
प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्राप्त सहयोग महत्वपूर्ण हुने बताउँदै अन्य क्षेत्रबाट पनि यस्तै सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
विपद्को समयमा प्रभावित नागरिकलाई केही राहत पुगोस् भन्ने मानवीय भावनाका साथ विद्यालय परिवारले सामूहिक रूपमा रकम संकलन गरी सहयोग गरेको निर्देशक बलायरले बताए।















