२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डोटी,माघ १८।डोटीको पिपल्ला बजारमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। बिहिवार साँझ ७:१० बजे डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा से ६ प ७२५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि घाईते हुनेमा मोटरसाइकल चालक २६ वर्षको पवन खड्का, पछाडि सवार दिपायल सिलगढी ३ का २० वर्षीय विकास भण्डारी र दिपायल सिलगढी नगरपालिका–५ का २० वर्षीय दीपेश भण्डारी छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार एयरपोर्टबाट पिपल्ला बजार तर्फ आइरहेको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइते तिनै जनालाई शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

लक्ष्मी वि. क .माघ १५

कृषि ज्ञान केन्द्र डोटीको आयोजनामा “कृषि प्रविधि प्रचार सम्बन्धी कृषि कार्यक्रम तथा अन्तरक्रिया गोष्ठी” सम्पन्न भएको छ ।

कार्यक्रममा कृषि क्षेत्रका नयाँ प्रविधि र कृषि ज्ञान केन्द्र डोटीले गरिरहेका कार्यहरूको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले डोटी जिल्लामा सुन्तला जातका फलफूल, आलु, तरकारी, ओखर, र भटमासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले डोटीमा सुन्तलाको उत्पादन उत्कृष्ट रहेको र यसको प्रवर्द्धनले जिल्लाको कृषि क्षेत्रलाई आर्थिक रूपमा लाभ पुग्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा विभिन्न कृषि प्रविधि र योजनाहरूको प्रस्तुति गरिएको थियो, जसमध्ये हरियो मल प्रवर्द्धन, चक्लाबन्दी कृषि योजना, पालिकास्तरीय कृषि पाठशाला, मुङ प्रवर्द्धन, मल्टिङ प्रविधि, किवी बगैंचा व्यवस्थापन, गड्यौली मल उत्पादन, हिउँदे र बर्षे आलु प्रवर्द्धन कार्यक्रम, र भूकम्प प्रभावित किसानहरूका लागि कृषि उद्यमशीलता कार्यक्रम उल्लेखनीय रहेका थिए।

डोटी जिल्लामा खेतीपाती गर्न प्राविधिक अभाव, जंगलजनावरको पर्को, वासस्थान परिवर्तन, र बजार व्यवस्थापनमा चुनौतीहरू रहेको उल्लेख गर्दै उहाँले आधुनिक कृषि व्यवसायलाई प्रतिस्पर्धी, नाफामुखी, र उद्यमशील बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, पत्रकार महासंघका अध्यक्ष, र विभिन्न संचारमाध्यमका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले किसानहरूले भटमासको उचित मूल्य नपाएको र व्यापारिक दृष्टिकोणबाट खेती गर्नुपर्ने बताउनुभयो। उहाँले ग्रामीणस्तरमा कृषकहरूको समस्या समाधान गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले किसानहरूलाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै समस्या समाधानका उपायहरू सुझाव दिन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

डोटी,,,दीपकराज अवस्थि

डोटीको पुर्वीचौकी गाउँपालिकामा पालिका स्तरीय एच.पी.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा डोटीको आयोजनामा पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकार वालाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

देशै भरी यहि माघ २२ गते देखी फागुन ६ गते सम्म खोप अभियान सञ्चालन हुने कार्य तालिका रहेकोमा पुर्वीचौकीमा यहि माघ २२ गते देखी माघ २७ गते सम्म खोप लगाइ सक्ने कार्य तालिका रहेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पाठकले बताए । 

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य, १० देखी १४ वर्ष सम्मका विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको बताइएको छ ।

पुर्विचौकी गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार १ सय ४७ र नजाने ५७ जना गरी १ हजार २ सय ४ जना रहेकाले आफूलाई पायक    पर्ने स्थानमा गएर खोप लगाउन र खोप लगाउनमा सहयोग गरीदिन समेत आग्रह गरिएको छ ।

माघ १४, डोटी :बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । बोगटान फुड्सिल गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा  चवराचौतारामा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।

बोगटान फुड्सिल आँखा उपचार केन्द्रको सोमबाट एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । संविधानले व्यवस्था गरेअनुरूप नागरिकले गाउँपालिकामै आँखा उपचार पाउनुपर्ने हेतुले च्यारिटी हेल्थ फाउन्डेसनको सहयोगमा उपचार केन्द्रको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । उपचार केन्द्रको स्थापनापछि यहाँका बासिन्दाहरूको आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हट्ने अध्यक्ष गड्सिलाले बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई गाउँमै समयमै आँखाको उपचार सुविधा पुर्‍याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको च्यारिटी हेल्थ फाउन्डेसनका कार्यक्रम निर्देशक अनिल न्यौपानेले बताए । उपचार केन्द्रमा दैनिक आँखाको सामान्य चेकजाँच,  चस्मा र औषधी वितरण जस्ता कार्य हुने न्यौपानेले बताए । उनले गाउँपालिकामा मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको सङ्ख्या एक सय पुगेमा शिविरको व्यवस्था गरिने र २/३ जना बिरामी भएमा आँखा उपचार केन्द्रको सिफारिसमा निःशुल्क शल्यक्रिया गरिने पनि बताए ।

आँखा उपचार केन्द्रमा कार्यालय सहयोगी सहित ३ जना कर्मचारी रहेछन् ।

डाेटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्धकाे खाेप (एच.पि.भि खाेप)लागाईने भएकाे छ ।

यहि माघ २२ गते देखि फागुन ६ गते सम्म जिल्लाभर ३ सय २ खोप केन्द्रमा ३ सय ३ जना स्वास्थ्यकर्मी र ६ सय ४ जना स्वयंसेवक परिचालन गरि खाेप अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय खाेप कार्यक्रम संयोजक सुर्य विष्टले बताए ।

जिल्लाकाे ९ वटै स्थानीयतहका विद्यालय जाने १० हजार ९ सय १ र विद्यालय नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ किशोरीलाई खोप लगाइने डाेटी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासिले बताए  ।

जिल्लाको स्थानीय तहगत रूपमा हेर्दा बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय २९ र नजाने ४८ जना गरी ७ सय ७७ जना, जोरायल गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ८७ र नजाने १० जना गरी १ हजार ९७ जना, बडीकेदार गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय ४१ र नजाने ८ जना गरी ७ सय ४९ जना, सायल गाउँपालिकामा विद्यालय जाने किशोरी ९ सय ४८ र नजाने ५२ जना गरी १ हजार जना, दिपायल सिलगढी नगरपालिका विद्यालय जाने किशोरी १ हजार ९ सय ३९ र नजाने १ सय २ जना गरी २ हजार ४१ जना, शिखर नगरपालिका विद्यालय जाने किशोरी १ हजार ६ सय १४ र नजाने ६३ जना गरी १ हजार ६ सय ७७ जना, के आई सिंह गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार २ सय ६८ र नजाने  ११ जना गरी १ हजार २ सय ७९ जना, पुर्विचौकी गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार १ सय ४७ र नजाने ५७ जना गरी १ हजार २ सय ४ जना र आदर्श गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ४ सय २८ र नजाने २ सय ३५ गरी १ हजार ६ सय ६३ जना किशोरीहरूलाई खोप लगाईने कार्यक्रम रहेको बताएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य, विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको प्रमुख मलासीले बताए ।

डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं ७ काे कार्यालय पाेखरिले राष्ट्रपति रनिङ शिल्ड बिजेतालाई सम्मान गरेकाे छ ।


वडा कार्यालयमा आज (आइतबार) एक कार्यक्रमकाे आयाेजना गरि ३३ जना छात्र छात्रालाई शैक्षिक सामाग्री र नगद पुरस्कार दिएर सम्मान गरीएकाे वडा सचिव बिष्णु खड्काले जानकारी दिए ।

पुर्विचाैकी गाउपालिका डाेटीमा भएकाे छैटौ राष्ट्रपति रनिङ शिल्डमा वडा नं ७ पाेखरिमा रहेकाे मष्टामाण्डाै माध्यमिक विद्यालयका बिद्यार्थीले सबै भन्दा बढी स्वर्ण पदक लिएर प्रथम भएका थिए ।

याे विद्यालय भाैगाेलिक दृष्टिले दुरिमा भए पनि सिमित स्रोत र साधनका बाबजुद पनि विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शनी गरेर राष्ट्रपति रनिङ शिल्डकाे उपाधि दिलाएकोमा धन्यवाद दिदै सम्मान गरिएको वडा अध्यक्ष प्रेम खड्काले बताए ।

गत पुस २९ गतेे सम्पन्न पालिका स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुर्विचाैकि गाउपालिका वडा नं ७ मा रहेेकाे मष्टामाण्डाै माध्यमिक विद्यालयले १४ स्वर्ण ५ रजक, ५ कास्य सहित उपाधि जितेकाे थियाे ।

डाेटी ,,माघ ,१३
डोटीको पुर्वीचौकी गाउँपालिकामा रोजगार कार्यक्रमका सहभागीलाई अभिमुखीकरण गराइएको छ ।

यही माघ ९ गते पालिकाको वडा नं.७ पोखरी बाट सुरु गरिएको अभिमुखीकरण कार्यक्रम वडा नं.३ गैरागाँउमा आज(आइतबार) सम्पन्न भएको गाउँपालिका रोजगार संयोजक हरिभक्त साउँद बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पालिका भरीका विभिन्न विकास निर्माणका योजनाहरू निर्माण मर्मतका लागी ८४ जना व्यक्तिहरूलाई अभिमुखीकरण गराइएको रोजगार संयोजक साउँद बताए ।

पालिकाको वडा नं. १ खीरसैनका १४ जना, वडा नं. २ बगलेकका १० जना, वडा नं. ३ गैरागाउँका १२ जना, वडा नं. ४ सानागाउका  ११ जना, वडा नं. ५ काडामाण्डौका १६ जना, वडा नं. ६ गाँजरीका ९ जना र वडा नं. ७ पोखरीका १२ जना सहभागी रहेका थिए ।

कार्यक्रममा सहभागिहरुले आ.व २०८१/०८२ मा माघ ०९ गते देखि वैशाख २५ गते सम्म जम्मा १०० दिनको रोजगार पाउने छन् श्रमिकले सहभागी भए बापत १ दिनको रु.६६८ का दरले ज्याला रकम पाउने बताइएको छ ।

आ.व. २०८१÷/०८२ को कार्यक्रममा ७ वटै वडाबाट छनौट भएका श्रमिकहरूलाई वडा स्तरीय अभिमुखीकरण गराई रोजगार कार्यक्रममा सहभागी गराइएको हो । 

काममा सहभागी श्रमिकहरूको नेपाल सरकारले ७ लाख बराबरको बिमाको पनि व्यवस्था गरेको छ ।

माघ १३, बडिकेदार । डोटीमा सुत्केरी बेथा लागेकी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । आइतबार जिल्लाको बडीकेदार गाउँपालिका–५ केदारमाण्डौकी २३ वर्षिया बिष्ना देवी पुन मगरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सुत्केरी बेथा लागि सुत्केरी हुन नसकेर अचेत अवस्थामा पुगेपछि मगरलाई हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आज बिहान साढे १० बजेको समयमा सुत्केरी हुन नसकेर अचेत अवस्थामा रही स्थानीय सामुदायिक स्वास्थ्य इकाई सेउडेखेतमा उपचार भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको पहलमा महिलाको उद्धार गरिएको प्रहरीले बताएको छ ।

अहिले उनको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

अछाम– अछाममा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्।

बाख्रा चराउन गएका ढकारी गाउँपालिका–८ पल्साता बस्ने १३ र १५ वर्षीया दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।

मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए। प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रवार गाईवस्तु चराउन सँगै जंगल गएका थिए।

साँझसम्म पनि उनीहरु घरमा नआएपछि परिवारले खोजी गरिरहेको थियो। प्रहरीमा भने खबर भएको थिएन।

किशोरीका परिवारले खोजी गर्ने क्रममा स्थानीय षोडशा सामुदायिक वनमा शनिवार साँझ ६ बजेपछि उनीहरु जंगलमा मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगिसकेको भए पनि राति अनुसन्धान हुन सकेन। आइतवार बिहानै घटनास्थलमा खटिएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

डाेटी,, माघ १३
डोटीमा एक युवकले मादक पदार्थ सेवन गरेको अवस्थामा धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेका छन ।

सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० का बहादुर खड्काले आज आइतबार बिहानै २ बजेतिर धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको बताएको छ ।

हिजो माघ १२ गते शनिबार मात्रै छोरीको उपचार गर्न भनि घरबाट आएका खड्का जिल्ला अस्पताल डोटीमा उपचार पश्चात आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीका चालक पदमा कार्यरत छत्र खड्का बस्ने क्वाटरमा राति बास बसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी धारीलो हतियार (खुडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको चालक छत्र खड्कालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको कमाण्डमा टोली खटिई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।