
डोटी ,पुरुषाेत्तम अवस्थी — डोटीको पूर्वीचौकी गाउँपालिकाले पालिका भरिका १८९ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली वितरण गरेको छ ।
“उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण कोसेली वितरण कार्यक्रम” अन्तरगत गाउँपालिकाको सातै वडाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो।

कार्यक्रम अन्तर्गत वडा नं. १ खिरशैनमा १३ जना, वडा नं. २ वगलेकमा ५० जना, वडा नं. ३ गैरागाउँमा २० जना, वडा नं. ४ सानागाउँमा ३१ जना, वडा नं. ५ काडामाण्डौमा २६ जना, वडा नं. ६ गाँजरीमा २१ जना र वडा नं. ७ मा २८ जना महिलाले पोषण कोसेली प्राप्त गरेका हुन् ।
वितरण गरिएको पोषण कोसेलीमा अन्डा, चना, दाल, फलफूल (स्याउ र ओखर), तेल तथा नुन लगायतका पोषणयुक्त खाद्य सामग्री समावेश गरिएको थियो।
गर्भावस्था तथा सुत्केरी अवस्थामा महिलाको स्वास्थ्य सुधार र पोषण अवस्थालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पूर्वीचौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्षले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष पशुपति खड्काले बताए ।
पोषण कोसेली प्राप्त गरेका गर्भवती तथा सुत्केरी महिलाले यस्तो कार्यक्रमले आफूहरूलाई सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका थिए ।





