














काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ।
थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ।
पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।
बाजुराः बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–४४३० नम्बरको जिपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। महिलालाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।





