
साउन ८, डोटी ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो ।
उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि रेडियोकै सहकर्मीहरुले सुजङ्ग अस्पताल राजपुर पुर्याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको बताईएको छ ।
उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल डोटी ल्याईंदैछ । परिवारका सदस्यहरु आइरहेको र आएपछि पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।
डोटीको जोरायल गाउँपालिका ४ चुचुनढुङ्गा स्थायी घर भएका पत्रकार खत्रीको कैलालीको चौमालामा पनि बसोबास रहेको छ ।
उनी रेडियो नेपालमा वि.सं. २०७६ सालदेखि करारमा काम गर्दै आएका थिए ।
साउन ८, बाजुरा । हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनास्थलमा दुई जनाको मृत्यु भएकोमा थप एक जना घाइतेको उद्धारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी १६ जना घाइते भएका छन्, जसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेहरुमा हिमाली गाउँपालिका–५ की ६५ वर्षीया बिजौरा रोकाया, ७० वर्षीया बाचा रोकाया र ३५ वर्षीया जुनेली रोकाया रहेका छन् । घाइते भएकी जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
हिमाली गाउँपालिका–५ को क्युडीबाट कुवाडीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा सडकबाट करिब साढे दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार साँघुरो र कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार जिपमा चालकसहित १९ जना सवार थिए ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा जिपका चालक हिमाली–२ का २३ वर्षीय गौरी बुढा, हिमाली–५ का ३५ वर्षीय बाचलाल रोकाया, ३६ वर्षीय धनसिंह रोकाया, ७० वर्षीया भदैरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर बुढा, ७० वर्षीय अम्म रोकाया, ४५ वर्षीय भैजित बुढा, १४ वर्षीय दशरथ बुढा, १२ वर्षीया अप्कली बुढा, ५० वर्षीय रनसुर सुनार, ५० वर्षीय राजबहादुर बुढा थापा र हुम्ला ताजाकोट गाउँपालिका–३ का ३६ वर्षीय सुरेन्द्र शाही रहेका छन् । त्यसैगरी, हिमाली–५ का ५० वर्षीय छते रोकाया, ८ वर्षीय साजन रोकाया र ३५ वर्षीय दलबहादुर चदाराको अवस्था मध्यम रहेको छ । दुर्घटनाका गम्भीर घाइतेहरुको उद्धारका लागि हेलिकप्टर पठाउन गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।





