
काठमाण्डौ: मौन अवधि शुरू भएसँगै निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको निगरानी बढाएको छ । यस पटक चुनावको प्रचारको समयदेखि नै सामाजिक सञ्जालको निगरानी र आचारसंहिता विपरीत भएमा कारबाहीलाई तीव्र बनाएको आयोगले मौन अवधिमा सामाजिक सञ्जालको निगरानी बढाएको हो ।
अघिल्ला चुनावहरूमा मौन अवधिका बेला भोजभतेर तथा पैसाको लेनदेन, दबाव जस्ता गतिविधि बढी निगरानीमा पर्ने गरेकामा यस पटक सामाजिक सञ्जालको दुरुपयोग सबैभन्दा मुख्य विषय बनेको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी अन्तिम समयमा उम्मेदवारहरूले विभिन्न हल्लाहरू पनि चलाउन सक्ने, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपयोग गर्ने सम्भावना धेरै रहेकोले त्यसतर्फ निगरानी बढाएको बताउनुभयो । यदि त्यस्तो दुरुपयोग भएको पाइएमा उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्ने उहाँको चेतावनी छ ।
पर्सि बिहीवार हुने चुनावका लागि गएराति १२ बजेदेखि मौन अवधि शुरू भएको छ । मौन अवधिमा दल तथा उम्मेदवारले कुनै पनि प्रचारप्रसार, छलफल, सभा, भोजभतेर वा मत माग्ने गतिविधि गर्न पाइँदैन ।
मौन अवधिको पालना नगरी मतदातालाई प्रभावित पार्ने, प्रलोभन दिने वा निषेधित गतिविधि गर्ने प्रवृत्तिले चुनावको मर्यादा र स्वच्छता खल्बल्याउने खतरा रहने भएकोले यसको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ । निगरानी कडा पारेको र आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने आयोगको चेतावनी छ ।





