जेठ १७, डोटी । क्रिकेटर लोकेश बम गृह पालिकामा नगद सहित सम्मानित भएका छन् । शुक्रवार डोटीको बोगटान फुड्सिल गाउँपालिकाले क्रिकेट खेलाडी बमलाई सम्मान गरेको हो ।
समृद्ध बोगटान अभियानअन्तर्गत गाउँपालिकाले आयोजना गरेको “मातृभूमि महोत्सव” कार्यक्रममा बमलाई नगद एक लाख ११ हजार ११ रुपैयाँ सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले जानकारी दिए । क्रिकेटमार्फत बोगटान फुड्सिल गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बमले महत्त्वपूर्ण भूमिका खेलेकाले प्रोत्साहन स्वरूप नगद सहित सम्मान गरिएको अध्यक्ष गड्सिलाले बताए । सम्मान ग्रहण गर्दै क्रिकेटर बमले पालिकाको मायाले आफू उत्साहित भएको प्रतिक्रिया दिए ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ जन्म घर भएका बमले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । धनगढी क्रिकेट एकेडेमीबाट हुर्किएका लोकेशले नेपालको यु–१९ टोली, घरेलु क्रिकेट हुँदै सिनियरबाट खेलिसकेका छन् ।















