जेठ २०, डोटी । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) मा डोटीका नौ स्थानीय तहलाई तीन अर्ब ५३ करोड १२ लाख रुपैयाँ अनुदान दिने भएको छ । जेठ १५ गते सङ्घीय संसद्मा पेस भएको बजेट विवरण अनुसार सङ्घीय सरकारले स्थानीय तहहरूलाई समानीकरण अनुदान, विशेष अनुदान, सशर्त अनुदान र समपूरक अनुदान गरी चार प्रकारका अनुदानमा उक्त रकम दिने भएको हो । समानीकरण अनुदानलाई न्यूनतम, सूत्रमा आधारित र कार्यसम्पादनमा आधारित गरी तीन भागमा विभाजन गरिएको छ ।
जिल्लाका नौ स्थानीय तहहरूले पाउने अनुदानमा चालुतर्फ दुई अर्ब ९१ करोड ३२ लाख अर्थात् ८२.४९ प्रतिशत र पुँजीगततर्फ ६१ करोड ८० लाख (१७.५१ प्रतिशत) रहेको छ ।
जिल्लाका दुई नगर–पालिकाहरूले चालु तर्फ ८४ करोड ६५ लाख र पुँजीगततर्फ ३५ करोड ९६ लाख गरी जम्मा एक अर्ब २० करोड ६१ लाख अनुदान पाउने छन् । जसमा दिपायल सिलगढी नगरपालिकाले चालुतर्फ ३९ करोड ४० लाख र पुँजीगततर्फ २८ करोड १९ लाख गरी जम्मा ६८ करोड १९ लाख पाउने भएको छ । यस्तै, शिखर नगरपालिकाले चालुतर्फ ४५ करोड २५ लाख र पुँजीगततर्फ ७ करोड १७ लाख गरी जम्मा ५२ करोड ४२ लाख पाउने भएको छ । यस्तै, सात गाउँपालिकाले चालुतर्फ दुई अर्ब ६ करोड ६७ लाख र पुँजीगततर्फ २५ करोड ८४ लाख गरी जम्मा दुई अर्ब ३२ करोड ५१ लाख रुपैयाँ पाउने भएका छन् ।
आदर्श गाउँपालिकाले चालुतर्फ २८ करोड ९७ लाख रुपैयाँ र पुँजीगत नौ करोड १८ लाख गरी जम्मा ३८ करोड १५ लाख पाउनेछ । यस्तै, के आई सिंह चालुतर्फ २७ करोड ६५ लाख र पुँजीगततर्फ तीन करोड ३५ लाख रुपैयाँ अनुदान पाउनेछ ।
जोरायल गाउँपालिकाले चालुतर्फ ३८ करोड १५ लाख र पुँजीगततर्फ दुई करोड ७८ लाख गरी जम्मा ४० करोड ९३ लाख रुपैयाँ पाउनेछ । पूर्वीचौकी गाउँपालिकाले ३५ करोड ७० लाख रुपैयाँ अनुदान पाउनेछ । जसमा चालुतर्फ ३० करोड ७९ लाख र पुँजीगततर्फ चार करोड ९१ लाख रहेको छ ।
आगामी आर्थिक वर्षमा बडीकेदार गाउँपालिकाले चालुतर्फ २८ करोड दुई लाख र पुँजीगततर्फ एक करोड तीन लाख गरी २९ करोड पाँच लाख अनुदान पाउने भएको छ । बोगटान फुड्सिल गाउँपालिकाले चालु २९ करोड १४ लाख र पुँजीगततर्फ २ करोड ३४ लाख गरी जम्मा ३१ करोड ४८ लाख रुपैयाँ दिने अनुदान पाउने भएको छ ।
यस्तै, सायल गाउँपालिकाले चालुतर्फ २३ करोड ९५ लाख र पुँजीगततर्फ दुई करोड १५ लाख गरी जम्मा २६ करोड १० लाख रुपैयाँ अनुदान पाउने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।















