भदौ ३० गते डोटी : डोटीमा बाल सुधार गृहबाट भागेका ५२ जनामध्ये १७ जना कैदीलाई फर्काइएको छ ।
मङ्गलवार राति भागेका ५२ जनामध्ये १७ जनालाई नियन्त्रणमा लिइएको बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।
उनका अनुसार भागेकामध्ये केही आफैँ,केहीलाई अभिभावकले बुझाएका हुन भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर बाल सुधार गृहको जिम्मा लगाएको थियो ।
विभिन्न मुद्दामा सुधार गृहमा रहेका ३५ जना अझै फरार रहेको लिम्बुले जानकारी दिइन् ।
केही अभिभावकहरूले आफ्ना बालकलाई आफैँ फर्काएर ल्याउने प्रतिबद्धता जनाएको प्रमुख लिम्बुले जानकारी दिइन् ।
सुधार गृहमा ५३ जना बाल बन्दीहरू बस्दै आएका थिए ।
अपराधमा संलग्न भएको आरोपमा कम उमेरका बालकहरूलाई सुधार गृहमा राखिने गरिएको छ । मङ्गलवार १ जना भने सुधार गृहमै बसेका थिए ।
जेन-जी आन्दोलनका क्रममा देशभर कैदी बन्दी भाग्ने घटनाहरू बढेसँगै यहाँका बाल बन्दी पनि मंगलवार भागेका थिए।
फरार रहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।















