अछाम । अछाममा अटो रिक्साले ठक्कर दिँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
साँफेबगर नगरपालिका ७ रिडिकोटमा सडक पार गर्ने क्रममा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएकी साेही ठाउँमा बस्ने ५५ वर्षीया जनक शाहको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
शुक्रबार दिउँसो साँफे-मंगलसैन सडक खण्डअन्तर्गत सु.प.प्र. ०१-००१ ४६२३ नम्बरको अटोले शाहलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी शाहलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
घटनापछि अटो चालक जयगढ गाउँपालिका -४ का विशाल बोहरा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।















