डोटी — डाेटीकाे पूर्वीचौकी गाउँपालिका वडा नं. ७ पोखरीको कार्यालयले उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई प्राेत्साहन र लगनशील शिक्षकलाई सम्मान गरेकाे छ ।

शुक्रबार मष्टा माण्डौ माध्यमिक विद्यालयको प्राङ्गणमा वडा अन्तर्गत रहेका ६ वटा आधारभूत विद्यालय सहभागी गराई शिक्षक–विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हाे ।
कार्यक्रम अन्तर्गत अन्तरविद्यालय स्तरमा हाजिरजवाफ प्रतियोगिता, गणित दौड तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो। साथै विद्यालयमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा लगनशील शिक्षकहरूलाई सम्मान गरिएको उद्घोषक विमल नेपाली जानकारी दिए ।

उत्कृष्ट विद्यार्थीहरूलाई कापी, कलम तथा आर्थिक सहयोग प्रदान गरिएको थियो। उत्कृष्ट विद्यार्थीलाई रु. ४ हजारका दरले सम्मान गरिएको छ भने एसईई उत्तीर्ण अन्य विद्यार्थीलाई जनही रु. ३ हजार सहयोग प्रदान गरिएको वडा सचिव नहकुल खड्काले बताए । त्यस्तै कक्षा १२ तर्फ उत्कृष्ट दुई विद्यार्थी शुशिला खड्का र सिद्धान्त विक लाई जनही रु. ४ हजारसहित सम्मान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट तथा लगनशील शिक्षकहरूलाई नगदसहित सम्मान गरिनुका साथै अन्य सम्पूर्ण शिक्षकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै शिक्षक, विद्यार्थी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको गरेको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर भण्डारीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रेम खड्का ले शिक्षा क्षेत्रको गुणस्तर सुधार र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।
स्थानीय स्तरमा आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै शिक्षकहरूको मनोबल वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावक जनप्रतिनिधि पत्रकार र सुरक्षाकर्मी को सहभागी रहेको थियो ।















