डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकामा बजार अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा नियन्त्रण डिभिजन कार्यालय डोटीले बजार क्षेत्रहरूमा खाद्य वस्तुको गुणस्तर तथा मापदण्डको अवस्थाबारे गाउँपालिका भित्र रहेका साजघाट ,सानागाउँ र चौखुट्टे बजार क्षेत्रमा बिहीबार अनुगमन गरिएको हो ।
कार्यालयका अनुसार उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायमा बिक्री भइरहेको खाद्य सामग्रीको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीत रहेका सोह्र हजार बराबरको केही खाद्य वस्तुहरू फेला परेका थिए। ती सामग्रीहरू तत्काल नियन्त्रणमा लिइ जलाएर नष्ट गरिएको र सम्बन्धित व्यवसायीलाई आवश्यक सचेतना तथा निर्देशन दिइएको कार्यालय प्रमुख ललित कठायतले बताए ।
खाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई सरसफाइ, भण्डारण विधि तथा लेबलिङ्ग सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिए । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जिल्ला प्रशासन प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिए ।
कार्यालयले आगामी दिनहरूमा पनि यस्ता अनुगमन कार्यलाई निरन्तरता दिँदै मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने जनाएको छ।
अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि ,घरेलु तथा साना उद्योगका प्रतिनिधि ,गाउँपालिकाका प्रतिनिधि , पत्रकार र सानागाउँ प्रहरीका सुरक्षाकर्मी समेत अनुगमनमा उपस्थिति रहेको थियो ।















