प्रतीक्षा धामी , डोटी, ६ असार । डोटीको बडीकेदार गाउँपालिकाले पालिकाभरका उत्कृष्ट नतिजा हासिल गर्ने ९ जना विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ।
गाउँपालिकाको सभाहलमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा एसईई परीक्षा २०८१ का ३ जना, एसईई परीक्षा २०८२ का ३ जना विद्यार्थीलाई जनही २३ हजार तथा आधारभूत तह (कक्षा ८) परीक्षा २०८२ का ३ जना विद्यार्थीलाई जनही १४ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो।
विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै अध्ययनप्रति थप हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ,अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू अन्यका लागि पनि प्रेरणाको स्रोत बनेको बताउँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रको गुणस्तर सुधार र विद्यार्थी प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
सम्मानित विद्यार्थीहरूले पुरस्कार तथा सम्मानले आफूहरूलाई अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा मिलेको बताएका छन्।















